दोहा– कोरोना भाइरसको जोखिम बढेपछि कतारस्थित नेपाली दूताबासले कन्सुलर सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ । तर, अति अत्यावश्यक कामहरू राहदानीको म्याद सकिन लागेको, पाना च्यातिएको, राहदानी हराएर नयाँ बनाउन वा ट्राभल्ल डकुमेन्ट बनाउन, म्याद सकिन लागेका मागपत्र प्रमाणीकरण, शव पठाउनेलगायत सेवाहरू दूताबासका सम्बन्धित अधिकारीको फोन र इमेलबाट समय तय गरी गर्न सकिने दूताबासले जनाएको छ ।
आउँदो आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको दूताबासले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइसकेको छ ।
कतारले प्रवेशमा रोक लगाएपछि सरकारले अस्थायी रूपमा कतारका लागि श्रम स्विकृति दिन पनि बन्द गरेको छ । कतारको स्वास्थ्य मन्त्रालका अनुसार कतारमा हालसम्म २ सय ६२ जनामा संक्रमण देखिएको छ । बुधवार मात्रै २ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन् ।
अहिले कतारले कोरोना संक्रमणको जोखिम घटाउन भन्दै अस्थायी रूपमा सरकारी तथा निजी शैक्षिक संस्थाहरू बन्द गरेको छ । कतारमा झन्डै तीन लाख ५० हजारको संख्यामा नेपाली कार्यरत रहे पनि अहिलेसम्म कसैलाई कोरोनाको संक्रमण नदेखिएको दूताबासले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६ ०५:५१