दोहा– वैदेशिक रोजगारमा आउने नेपाली कामदारको श्रम स्विकृति नरोकिएको कतारस्थित नेपाली दूताबासले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपालबाट आउन लागेका नेपालीहरूको समेत श्रम स्विकृति नरोकिएको जानकारी दिएको हो ।
श्रमस्वीकृति रोकिएको भन्ने समाचार आएपछि कतारमा कार्यरत नेपाली कामदारले घर बिदामा जाने वा नजाने विषयमा नेपाली दूताबासमा सोधपुछ गर्नेको संख्या बढेको दूताबासले जनाएको छ । सरकारले श्रम स्विकृतिबारे कुनै निर्णय गरेमा दूताबासले यथाशिघ्र सूचना सम्प्रेषण गर्नेसमेत उल्लेख गरेको छ ।
यता, केही सञ्चार माध्यमहरूमा श्रम स्विकृति तत्कालका लागि बन्द गरिएको समाचार सार्वजनिक भएपछि सरकारले भने कुनै निर्णय नभएको जानकारी दिइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्विकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको बताइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६ ०५:१९