आज विश्व वातावरण दिवस । औद्योगिक क्रान्ति तथा प्लास्टिकजन्य पदार्थको प्रयोगले विश्वको वातावरण बिथोलिन थालेको छ । धनी देशले उद्योगहरुका धेरै कार्बन उत्सर्जन गर्दा जलवायु परिवर्तनको जोखिम बढ्दो छ । राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा नेताहरुले यो दिवसको अवसरमा शुभकामना दिने काम गरेका छन् । तर नीति बनाउने काममा उनीहरुको ध्यान देखिन्न । जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुने, मुल सुक्नेजस्ता समस्या देखिन थालेका छन् । अर्को विषय सहरीकरण अत्यधिक हुँदा जमिनमा पानी रिचार्ज (पुनर्भरण) नहुने समस्या पनि बढ्दो छ ।
मरुभूमिकरणका कारण खडेरी पर्दा भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयले आउँदो पुस्तालाई निकै असर पर्ने देखिन्छ । यसले भूमिको उत्पादनशीलता घट्ने, प्रकृति तथा वातावरणीय सन्तुलन बिग्रने निश्चित छ । ‘हाम्रो भूमि ः हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएको छ । सरकारको वातावरण विभाग, वातावरण संरक्षणकर्मी, विभिन्न स्थानीय निकाय प्रतिनिधि तथा सरोकारवालाले वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरेका छन् । तर के जलवायु परिवर्तनको जोखिमलाई नियन्त्रण गर्न यस्ता कार्यक्रममात्र पर्याप्त होला त ?
पक्कै पनि हुन्न । यसका लागि सरसफाइ तथा पर्यावरण जोगाउने काममा लाग्नुपर्छ । वातावरण तथा जनस्वास्थ्यलाई हानि पुर्याउने नेपाल सरकारद्वारा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको एकल प्रयोग हुने प्लास्टिकका झोलाको बिक्री वितरण, भण्डारण तथा प्रयोगलाई निरुत्साहित गरी बहुप्रयोग हुने कपडा तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गरी बनाइएका वैकल्पिक झोलाको प्रयोगलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो । घरायसी तथा व्यवसायबाट निष्काशित ठोस फोहोरमैलाअन्तर्गत जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर वर्गीकरण गरी स्रोतमै छुट्याउने र सोहीबमोजिम व्यवस्थापन गर्न पहल र सहयोग गरिनुपर्छ ।
वातावरण तथा जनस्वास्थ्यलाई प्रतिकूल असर पुर्याउनेगरी प्लास्टिक, कृषि अवशेष तथा अन्य प्रकारको फोहोर खुलारुपमा जलाउने कार्यलाई निरुत्साहित गरिनुपर्छ । यसैगरी सहर, घनाबस्ती भएको क्षेत्र विद्यालय, अस्पताल क्षेत्रलगायतका स्थानमा सवारीसाधनको हर्न बजाउन निरुत्साहित गर्ने, जमिनमा पानी रिचार्ज हुने प्रणालीको विकास गर्नेजस्ता कार्यक्रम पनि ल्याउनुपर्छ । पानीका मुहान, कुवा, पोखरी तथा तालतलैयाको संरक्षण गर्ने र आवश्यक क्षेत्रमा नयाँ पोखरीहरु निर्माण गरिनुपर्छ । ऊर्जा प्रयोग र खपतलाई मितव्ययी बनाउनुसमेत आजको आवश्यकता हो । वातावरण जोगाउन आ–आफ्नो ठाउँबाट लागिपरौं ।