दोहा– चीनबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय खाडी मुलुकमा पनि फैलिन थालेको छ । अहिलेसम्म नेपाली कार्यरत रहेका खाडी देश कुवेत, बहराइन र ओमनमा यसका संक्रमित बिरामी भेट्एिको जनाइएको छ ।
पछिल्लो समय कतारस्थित नेपाली दूताबासले पनि विज्ञप्ति जारी गर्दै सचेत रहन आग्रह गरेको छ । खाडीमा सबैभन्दा बढी संक्रमित कुवेतमा देखिएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
दिनप्रति दिन संक्रमितको संख्या बढेपछि कोरोनाको त्रासमा मानिसहरू घरभित्रै सिमिति हुन थालेको कुवेतमा कार्यरत नेपालीहरू बताउँछन् । नेपाली आप्रावासी कामदारहरूमा संक्रमण नदेखिएको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ ।
ओमनमा दुई जनामा यसको संक्रमण भेटिएको छ । ओमनको स्वास्थ्य मन्त्रालयले सोमबार दुई जना महिलामा यसको संक्रमण पुष्टि भएको जनाएको छ । संकास्पद २ सय ५० जनाको क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।
ओमनमा कार्यरत नेपालीहरूको अवस्था सामान्य नै रहेको जानकारी दिँदै ओमनस्थित नेपाली दूतावासले भने सचेत रहन आग्रह गरेको जनाएको छ ।
यता,बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३३ जनामा कोरोना भाइसको संक्रमण भेटिएको जनाएको छ । संक्रमित देखिन थालेपछि बहराइनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बहराइनको स्वास्थ्य मन्त्रालयबाट कोभिड–१९ को संक्रमणबाट नेपालीहरूलाई सचेत रहन अनुरोध गर्नुका साथै कुनै शंका लागेमा बहराइनको स्वास्थ्य मन्त्रालयको टोल फ्रि नम्बरमा सम्पर्क गर्न दूताबासले आग्रह गरेको छ ।
हालसम्म ३० भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय १ पुगिसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसबाट विश्वभर ८२ हजार २७ संक्रमित छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६ ०५:०४