काठमाडौं– वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्थाहरू सरकारले नवीकरण गरेको छ । वैदेशिक रोजगार ऐन, ०६४ एवं वैदेशिक रोजगार नियमावली, ०६४ अनुसार वैदेशिक रोजगारमा जाने कामदारले विदेश जानुअघि गर्ने स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाहरूले प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र नवीकरण हुनु पर्ने व्यवस्था बमोजिम नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती संस्थाहरूलाई नवीकरण गरेको हो ।
ऐनको दफा ७२ एवं नियमावलीको नियम ४५क. तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, ०७२ बमोजिम स्वास्थ्य संस्थाहरूले सूचीकरण भएका स्वास्थ्य संस्थाहरूमध्ये निर्धारित समयभित्र तोकेबमोजिमको दस्तुर, कागजात एवं विवरणसहित निवेदन पेस गरेपछि ती संस्थाहरू नवीकरण हुने व्यवस्था छ ।
यसबमोजिम १ माघ ०७६ देखि ०७७ पुस मसान्तसम्मका लागि २२५ स्वास्थ्य संस्थाहरू नवीकरण भएका छन् । संस्थाहरू नवीकरण भइसकेपछि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्वन्धी कार्यविधि, ०७२ को दफा ४ को उपदफा (५) बमोजिम स्वास्थ्य संस्थाको नामावलीसहितको विवरणसमेत मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६ ०५:०१