काठमाडौं– कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले सिंहदरबारमा गरेको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताएका हुन् ।
यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परिमार्जनका लागि विभिन्न चरणमा द्विपक्षीय वार्ता संवाद भए पनि त्यसले मूर्तरूप लिन सकेको थिएन ।
भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कतारले नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेको उनले सभामुख सापकोटलाई बताए । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि राजदूतले स्मरण गरेको सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६ ०५:१३