काठमाडौं– नेपालबाट रोजगारीका लागि विदेश जाने नेपाली कामदारको मासिक औसत कमाइ ४० हजार रुपैयाँ रहेको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले भर्खरै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०१४ देखि २०२२ सम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका कामदारको मासिक रुपमा औसत कमाइ ४० हजार ३३४ रुपैयाँ रहेको देखाएको हो ।
पिएनसिसीले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका १५ हजारभन्दा बढी कामदारको वस्तुगत अवस्था विश्लेषण गरी तयार पारेको अध्ययन प्रतिवेदनले रोजगार भर्ना प्रक्रियाका लागि औसतमा एक लाख ५० हजार रुपैयाँ खर्च हुने उल्लेख गरेको छ ।
कामदारले रोजगार भर्नाका लागि म्यानपावर कम्पनी, विभिन्न एजेण्ट र बिचौलियाहरुलाई उक्त रकम बुझाउने गरेको उल्लेख गरिएको छ । पुरुष कामदारको तुलनामा महिला कामदारले रोजगार भर्ना शुल्क कम तिर्ने गरेको प्रतिवेदनमा छ । जसअनुसार महिला कामदारले औसतमा एक लाख छ हजार रुपैयाँ तिर्ने गरेको बताइएको छ । पुरुष कामदारले औसत एक लाख ४६ हजार रुपैयाँ तिरेर वैदेशिक रोजगारीमा जाने गरेको प्रतिवेदनमा छ ।
त्यसैगरी वैदेशिक रोजगारीको नाममा ठगी हुने क्रम पनि बढ्दो रहेको प्रतिवेदनले देखाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा पठाइदिने भन्दै विभिन्न एजेण्ट र अनधिकृत व्यक्तिले आकर्षक कमाइको प्रलोभन देखाइ करोडौं रुपैयाँ ठगी गरिरहेको बताइएको छ ।