काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप ५८ जना नेपाली श्रमिकले ‘एक्जिट (बहिर्गमन) भिसा’ पाएका छन् । साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका ५८ जनालाई एक्जिट भिसा दिएको हो ।
एक्जिट भिसा प्राप्त गरेका व्यक्तिहरुले जतिसक्दो चाँडो साउदी छाडिसक्नुपर्ने रियादस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली दूतावास रियादबाट प्रक्रिया अगाडि बढाएका उनीहरुलाई एक्जिट भिसा दिइएको हो । एक्जिट भिसा प्राप्त गरेका नेपालीहरुलाई यथाशीघ्र साउदी छोड्न जानकारी दिँदै समयमै भिसाको म्याद हेर्न पनि दूतावासले आग्रह गरेको छ । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत कुनै पनि निकायमा रकम बुझाउनु नपर्ने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
दूतावासले इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने प्रस्ट पारेको छ । त्यसैगरी, कुनै केस वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म एक्जिट भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन कार्यालयसँग मात्रै हुने दूतावासले प्रस्ट पारेको छ ।
यसैबीच दूतावासले रोजगारीको शिलशिलामा विविध कारणले जरिवाना लगाइएका व्यक्तिहरूको जरिवाना मिनाहका लागि साउदीको सम्बन्धित निकायहरूसँग छलफल थालेको छ । यसका लागि जरिवानामा परेको व्यक्तिहरुको विवरण संकलन कार्य सुरु गरेको दूतावासले जनाएको छ । यसरी अप्ठेरोमा परेका नेपालीहरुले आवश्यक जानकारी र सहजीकरणका लागि रियादस्थित दूतावासको कार्यालय र जेद्धास्थित नेपाली महावाणिज्यदूतावासमा बिदाको दिनबाहेक कार्यालय समयभित्र सम्पर्क राख्न सकिने जनाइएको छ ।