काठमाडौं– वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमार्फत हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापनमाथि निगरानी गर्न सुरु गरेको छ । समाजिक सञ्जाल (फेसबुक, इन्टाग्राम, टिकटकलगायत)मा गैरकानुनी रुपमा वैदेशिक रोजगारीका विज्ञापनहरु प्रकाशन÷प्रसारण हुन थालेपछि विभागले निगरानी थालेको हो ।
विभागले यसका लागि छुट्टै टिकटक आइडीसमेत सञ्चालनमा ल्याएको छ । यसरी गैरकानुनी विज्ञापनको आवश्यक निगरानी र अनुगमन गर्न थालिएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । ‘अहिले विभागले अनुगमनको कार्यलाई तीव्र बनाएको छ,’ उनले भने, ‘विभागको यस अभियानमा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले सामाजिक सञ्जालमा हुने सूचना गलत हो या सही भनेर छुट्याउन हामीलाई सम्पर्क गरे समस्या हल भएर जान्छ ।’
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले भ्रमपूर्ण विज्ञापनलाई सहजै विश्वास गरेका कारण पछिल्लो समय ठगीका घटना बढ्दै गएकोप्रति विभाग सजग बनेको उनले बताए । ठगी नियन्त्रणका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा उप्रेतीले जोड दिए । ‘जबसम्म भ्रमपूर्ण विज्ञापन तथा सूचनामा विश्वास हुन्छ तबसम्म ठगी झन् बढ्दै जान्छ र विभागको अनुगमन पनि फितलो रहन सक्छ,’ उनले भने ।
निर्देशक उप्रेतीका अनुसार अहिले सामाजिक सञ्जालमार्फत भइरहेको ठगी नियन्त्रणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकजना उपसचिवको संयोजकत्वमा एउटा छुट्टै समिति पनि बनाइसकेको छ । उक्त समितिले सामाजिक सञ्जालमा हुने भ्रमपूर्ण विज्ञापन तथा सूचनालाई नियन्त्रण गरी कसरी सही सूचना प्रवाह गर्न सकिन्छ भनेर गृहकार्य गरिरहेकोले त्यसको आधारमा विभागले थप निर्णय गर्ने बताइएको छ ।
सामाजिक सञ्जालबाट वैदेशिक रोजगारसम्बन्धी भ्रमपूर्ण विज्ञापन गर्ने प्रवृत्ति बढेपछि विभागले समयसमयमा सचेत गराउँदै प्रलोभन देखाई सामाजिक सञ्जालमा हुने विज्ञापनको विश्वास नगर्न पनि विभागले आग्रह गरेको छ । त्यस्तै विभागको अनुमतिवेगर वैदेशिक रोजगारसम्बन्धी कुनै पनि विज्ञापन वा सूचना प्रकाशन गर्न नपाइने उल्लेख गरिएको छ । केही दिनअघि विभागको अनुमति नलिई समाजिक सञ्जालमा विज्ञापन गर्ने इजाजत प्राप्त दुईवटा म्यानपावर कम्पनीलाई कारबाही गरेको थियो ।