काठमाडौं – वैदेशिक रोजगार विभागले अनधिकृत व्यक्तिहरुको प्रवेशले कार्यसम्पादनमा असर परेको भन्दै विभाग प्रवेशका लागि साथमा परिचयपत्र अनिवार्य हुनुपर्ने जनाएको छ । पछिल्ला दिनहरुमा विभाग तथा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्या बढ्नुका साथै अनधिकृत व्यक्तिहरुको प्रवेशले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको हुँदा परिचयपत्र अनिवार्य गरिएको विभागले उल्लेख गरेको छ ।
विभागले आइतबार एक सूचना जारी गर्दै विभाग÷कार्यालयमा कार्यरत कर्मचारीले सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा प्रवाह गरिरहेको अवस्थामासमेत अनधिकृत व्यक्ति प्रवेश गरी कार्यसम्पादनमा कठिनाइ सिर्जना गरेको उल्लेख छ ।
विभागले अनावश्यक भीडभाडका कारण सेवा प्रवाह तथा सहजीकरण प्रभावित हुने हुँदा कामको सिलसिलामा प्रशासनिक भवनभित्र प्रवेश गर्ने सेवाग्राहीलाई आफ्नो परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ । साथै प्रशासनिक कार्यका लागि विभागमा आउने म्यानपावर कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको परिचयपत्र लगाएर मात्र प्रवेश गर्न पनि विभागले सूचित गरेको छ ।
विभागले यसअघि पनि अनावश्यक भीडभाड तथा अनधिकृत व्यक्तिहरुको प्रवेशले कार्यसम्पादनमा कठिनाइ परेको भन्दै विभाग प्रवेशमा परिचयपत्र अनिवार्य गरेको थियो । तर, फितलो कार्यान्वयन र सरोकारवालाहरुको विरोधले लागू हुन सकेको थिएन ।