काठमाडौं– वैदेशिक रोजगार विभागले जापान इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिटको)मा सूचीकृत म्यानपावर कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । विभागले जापानमा अभ्यासार्थी÷प्रशिक्षार्थी श्रमिक पठाउन अनुमति पाएका जिटकोमा सूचीकृत १४२ म्यानपावरको नामावली सार्वजनिक गरेको हो ।
त्यस्तै विभागले जिटको लाइसेन्सको समयावधि सकिएका म्यानपावर कम्पनीलाई यही साउन १५ गतेभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको छ । यसअघि विभागले जापानमा प्रशिक्षार्थी कामदार पठाउन इच्छुक इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरुलाई वैशाखभित्र जिटकोमा सूचीकृत हुन सूचित गरेको थियो ।
सुरुआती चरणमा २५० भन्दा बढी म्यानपावर कम्पनी जिटकोमा सूचीकृत भए पनि पछिल्लो समय सूचीकृत हुने र नवीकरण गर्ने कम्पनीहरुको संख्या घट्दै गइरहेको विभागको तथ्यांकले देखाएको छ । विभागमा सूचीकृत हुने तर जापानमा प्रशिक्षार्थी श्रमिक पठाउन नसक्ने भएपछि यसप्रति म्यानपावर कम्पनीहरुको आकर्षण घट्दै गएको छ ।
जिटकोअन्तर्गत रोजगारीमा जापान जान ४० वर्ष ननाघेका प्रशिक्षार्थी श्रमिकले औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि, सहकारी सामुदायिक संघसंस्था, होटल, पर्यटन व्यवसायलगायतका सेवा तथा वस्तु उत्पादनका क्षेत्रमा काम गरेको न्यूनतम दुई वर्षको अनुभव पेस गर्नुपर्नेछ । विभागले जापानमा प्रशिक्षार्थी श्रमिक पठाउन स्वीकृति प्राप्त संस्थालाई अधिकतम ५० हजार रुपैंयाँसम्म प्रवद्र्धन शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
जिटको जापानमा प्राविधिक इन्टर्न तालिमसम्बन्धी जागिरका लागि आवेदन दिने विदेशी श्रमिकहरूलाई मध्यस्थता गर्ने संस्था हो । प्राविधिक प्रशिक्षार्थी श्रमिकलाई जापान भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको जिटकोले नेपालसहित भारत, चीन, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, म्यानमार, भियतनामलगायत १६ मुलुकबाट प्रशिक्षार्थी कामदार लैजाने गरेको छ ।