काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७९÷०८० मा १२ करोड ८० लाख रुपैयाँ बिमा तथा क्षतिपूर्ति भुक्तानी गरेको जनाएको छ । दूतावसले एक वर्षमा भएका प्रमुख सेवा तथा खर्चको तथ्यांकीय विवरण सार्वजनिक गर्दै उल्लिखित रकम खर्च भएको जनाएको हाे ।
रोजगारीका क्रममा मृत्यु भएका, गम्भीर दुर्घटना वा बिरामी भएका वा अन्य कारणले जिम्मेवारी वहन गर्नुपर्ने श्रमिक तथा तिनका परिवारलाई बिमा र क्षतिपूर्तिबापत रकम भुक्तानी भएको दूतावासले जनाएको छ । सेवाका सम्बन्धमा एक वर्षमा २३ हजार ८७६ जनाको पासपोर्ट आवेदन संकलन गरिएको र २१ हजार ७४६ जनालाई पासपोर्ट बनाई वितरण गरिएको दूतवासको वार्षिक कार्यसम्पादन तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै एक वर्षमा ९०१ जनालाई भिसा जारी गरेको छ भने एक हजार ३३७ जनाको ट्राभल डकुमेन्ट बनाइएको छ । त्यसैगरी एक हजार ८३७ जनाको कागजात र तीन हजार १८ वटा व्यक्तिगत मागपत्र प्रमाणीकरण भएको उल्लेख छ । साथै, संस्थागत रुपमा एक हजार ३४४ मागपत्र प्रमाणीकरण भएको दूतावासले जनाएको छ ।
वर्षभरिमा ९९९ वटा समूहगत भिसा प्रमाणीकरण गरेको दूतावासले विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुको १६७ वटा शव व्यवस्थापन गरेको जनाएको छ । यस्तै विभिन्न माध्यमबाट आएका पाँच हजार ७०७ वटा गुनासा तथा उजुरीहरुको सम्बोधन गरेको छ ।