- साउन १३ देखि १५ गतेसम्म आवेदन फाराम वितरण तथा दर्ता
- भदौ ८ गते परीक्षा तालिका घोषणा
- भदौ १८ देखि २९ गतेसम्म परीक्षा
- असोज ३ गते नतिजा प्रकाशन
काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केकाहरुका लागि विशेष कोरियन भाषा परीक्षा हुने भएको छ । कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रुपमा पठाउने प्रक्रियाअन्तर्गत विशेष भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले शुक्रबार प्रकाशित गरेको सूचना अनुसार विशेष भाषा परीक्षा लागि यही साउन १३ देखि १५ गतेसम्म आवेदन फाराम वितरण तथा दर्ता हुनेछ । परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म सञ्चालन हुने शाखाले जनाएको छ । त्यसअघि भदौ ८ गते परीक्षा तालिका घोषणा हुनेछ । यस्तै, परीक्षाको नतिजा असोज ३ गते प्रकाशित गरिने सूचनामा उल्लेख छ ।
‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीपत्रअनुरुप रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रुपमा पठाउने प्रक्रियाअन्तर्गत उम्मेदवारको छनोट गर्ने क्रममा ह्युमन रिसोर्स डेभलपमेण्ट सर्भिस अफ कोरिया (एचआरडी)बाट सञ्चालन हुने विशेष कोरियन भाषा परीक्षामा सामेल हुन चाहने एचआरडी सर्भिस आफ कोरियाबाट प्राप्त नामावलीमा नाम समावेश भएकाहरुमध्ये इच्छुक योग्य नेपाली नागरिकहरु अनलाइन आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ इपिएस कोरिया शाखाको सूचनामा उल्लेख छ ।
साथै, इपिएसअन्तर्गत गई कोभिड अवधिमा कोरियाको न्याय मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मौसमी कामदार भई फर्केका, सन् २०१६ पश्चात् लिइएको टोपिक लेभल–३ उत्तीर्ण र सन् २०१६ पश्चात् सीप विकास तालिम लिएका व्यक्तिहरुको हकमा प्रमाण पेस गरेमा परीक्षा दस्तुर मिनाहा हुने र तोकिएअनुसार थप पाँचदेखि २५ अंक बोनस प्राप्त गर्नेसमेत सूचनामा उल्लेख गरिएको छ ।
क–कसले दिन पाउँछन् आवेदन ?
विशेष भाषा परीक्षाका लागि आवेदन दिन नेपाली नागरिक जो इपिएसअन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वेच्छिकरुपले नेपाल फर्केका कामदार हुनुपर्नेछ ।
यस्तै, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ । फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्तिले आवेदन दिन पाउने छैन । कोरियामा गई गैरकानुनीरुपमा बसोबास नगरेको हुनुपर्नेसमेत सूचनामा प्रस्ट पारिएको छ ।
साथै, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको, ‘कलर ब्लाइन्डनेस’ नभएका, कोरियामा इ–९ र इ–९–१ भिसामा पाँच वर्षभन्दा बढी अवधि नबसेको हुनुपर्ने इपिएस शाखाले जानकारी दिएको छ । ‘एचआरडी कोरियाबाट स्पेसल इपिएस–टोपिक परीक्षामा सहभागी हुनसक्ने भनी प्राप्त भएका नामावलीमा नाम भएकाले मात्र आवेदन फाराम भर्न पाउने भएकोले यस कार्यालयको वेवसाइटमा नामावली हेरी यकीन गरेर मात्र आवेदन पmाराम भर्नहुन अनुरोध छ,’ शाखाले सूचनामा भनेको छ ।
परीक्षा आवेदन फाराम इपिएसनेपाल डटजिओभी डटएनपीमा गई अनलाइन भर्नुपर्ने जनाइएको छ ।