काठमाडौं– मलेसियाले महत्वपूर्ण पाँचवटा आर्थिक क्षेत्र निर्माण, उत्पादन, वृक्षरोपण, कृषि र सेवा उद्योगमा श्रमिक अभाव कम गर्न करिब चार लाख आप्रवासी कामदार ल्याएको जनाइएको छ ।
सरकारले ११ लाख ३६ हजार विदेशी कामदारका लागि कोटा स्वीकृत गरेको भए पनि रोजगारदाताले आर्थिक अभावका कारण चरणबद्धरुपमा कामदार भर्ना गर्नेजस्ता कारणले चार लाखमात्रै ल्याएको गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले बताएको त्यहाँको सञ्चारमाध्यम मलायमेलले जनाएको हाे ।
गृहमन्त्री स्माइलले यस वर्षको पहिलो छ महिनामा पाँच लाख १८ हजार कामदारका लागि सरकारले दिएको स्वीकृतिअनुसार नै आप्रवासी कामदारलाई रोजगारी दिन स्थानीय रोजगारदातालाई छुट दिएको र देशमा पहिलेदेखि नै कागजपत्रविहीन कामदारलाईसमेत वैधानिक गराएको बताए ।
गृहमन्त्रीले स्वीकृत कोटा र रिक्यालिब्रेसन कार्यक्रमअन्तर्गत दर्ता भएका संख्यालाई हेर्दा कार्यबलको आवश्यकता पूरा हुने विश्वास व्यक्त गरेको सञ्चारमाध्यमले जनाएको छ । पहिलो त्रैमासिकमा लक्ष्यमा कामदार पु¥याउन नसके पनि दोस्रो त्रैमासमा पुग्ने बताइएको छ ।
गृहमन्त्री स्माइलले अवैध आप्रवासी श्रमिक रिक्यालिब्रेसन कार्यक्रम २.० मा करिब छ लाख ८० हजार विदेशी कामदार संलग्न रहेको बताए । कोभिड–१९ महामारीका कारण कमजोर बन्दै गएको देशको श्रमशक्तिलाई पूरा गर्न रिक्यालिब्रेसन कार्यक्रम यसै वर्षको जनवरीदेखि सुरु गरिएको भन्दै यसको प्रभावकारी प्रयोग भइरहेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।