काठमाडौं– वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका श्रमिकहरुलाई वैदेशिक रोजगारीका लागि पुनः विदेश पठाउनका लागि सहजीकरण गरिदिन अध्यागमन विभागलाई आग्रह गरेको छ । विभागले मंगलबार पत्राचार गर्दै उक्त आग्रह गरेको हो ।
सम्पूर्ण प्रक्रिया पूरा गरी रोजगारीका लागि श्रम स्वीकृति लिएर कुवेत हिँडेका श्रमिकलाई रोक्नु मनासिव नदेखिएको उल्लेख गर्दै पुनः पठाउन सहजीकरण गरिदिन विभागले पत्राचार गरेको हो ।
कागजात शंकास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले असार २७ र २८ गते ११७ जना श्रमिकहरुलाई विमानस्थलबाटै फर्काएको थियो । त्यसअघि असार २४ गते जोर्डन हिँडेका १५ जनालाई फर्काइएकोमा पछि उनीहरुलाई अध्यागमन आफैंले जाने प्रबन्ध मिलाएको थियो ।
लामो प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर विदेश हिँडेका श्रमिकलाई रोकिएकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएकाले सहजीकरणका लागि पत्राचार गरिएको निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । ‘सहजीकरणका लागि अध्यागमन विभागलाई आज पत्राचार गरेका छौं,’ उनले मंगलबार प्रभावसँग भने, ‘अब रोकिएका श्रमिकहरु दुई–चार दिनभित्रमा विदेश जान पाउँछन् भन्ने विश्वास गर्न सकिन्छ ।’
संस्थागतरुपमा श्रम स्वीकृति लिएका श्रमिकलाई कुवेतलगायत खाडी मुलुकमा जान अब समस्या नहुने र रोकिएकाहरुको पनि भिसा समाप्तीको अवधिलाई ध्यानमा राखेर केही दिनभित्रै कुवेत जाने बतावरण बन्ने सुवेदीले बताए । कार्यक्षेत्रको अधिकारलाई लिएर उत्पन्न भएको विवाद हल गर्न एक हप्ताभित्र दुई विभागबीच छलफल गर्ने उनको भनाइ छ ।क्षेत्राधिकार प्रस्ट हुँदाहुँदै पनि अध्यागमन विभागले कार्यक्षेत्र नाघेर प्रवेश गरेको स्वीकार गर्दै विज्ञप्ति निकालेको भन्दै उनले अब समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
सबै कानुनी प्रक्रिया पूरा गरी रोजगारीका लागि विदेश हिँडेका श्रमिकलाई विनाकारण रोक्नुको कुनै अर्थ नभएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन विभागविरुद्ध प्रदर्शन नै गरेको थियो । आन्दोलनपश्चात् अझ कठोररुपमा थप कागजातको प्रक्रियासहित श्रमिकलाई विदेश जान दिने विज्ञप्ति निकालेको अध्यागमन विभागलाई वैदेशिक रोजगार विभागले कार्यक्षेत्र स्मरण गराएको थियो । विभागको विज्ञप्तिपश्चात् पछि हटेको अध्यागमनले पुनः विज्ञप्ति निकाल्दै आफ्नो कार्यक्षेत्रअनुसार जिम्मेवारी पूरा गर्न प्रतिबद्धता जनाएको छ भने यससँगै रोकिएका कामदार जाने बाटो खुलेको छ ।
विनाकारण शंकाकै भरमा विमानस्थलबाटै फर्काइनुले श्रमिकहरुलाई आर्थिक तथा मानसिक क्षति पुगेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘अध्यागमनको गैरजिम्मेवारीका कारण १५ जनाभन्दा बढीको भिसा अवधि समाप्त भयो, सबैको गरी एक करोडजति टिकटको पैसा खेर गयो, यसको जिम्मेवारी कसले लिन्छ,’ उनले प्रश्न गरे । संस्थागत श्रम स्वीकृति लिएका श्रमिक विदेश गइरहेको भन्दै उनले रोकिएकाहरुलाई पनि पुनः टिकट काटेर पठाउने प्रक्रिया सुरु गरिने जानकारी दिए ।