काठमाडौं - रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै एक करोड ६० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् ।
महर्जन र ढकालले विश्वास दिलाइ ३६ जनाबाट एक करोड ६१ लाख २० हजार रुपैयाँ रकम ठगी गरेको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
अमेरिका बस्दै आएका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै प्रोफाइल खोली पीडितसँग चिनजान गरी आफू अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेस्टुरेण्टमा काम गर्ने गरेको र प्रोफिट स्टक अप्सन टिएफएक्स नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेस्टुरेण्टमा मासिक दुई हजारदेखि तीन हजार डलरसम्मको जागिर लगाइदिने भन्दै महर्जन र ढकालमार्फत ठगी गरेको प्रहरीले उल्लेख गरेको छ ।
पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको बताइएको छ । प्रहरीले उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप लिई अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० ०८:१५