दोहा– कुवेतमा बालुवाको ढिस्कोले पुरिँदा ज्यान गुमाएका थप दुई जना नेपालीको पनि परिचय खुलेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । ज्यान गुमाउनेमा नवलपरासीका पूर्णबहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगर रहेको दूताबासले जानकारी दिएको छ ।
गएको बुधबार कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएको थियो । कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सिजिजिसीमार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एन्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए ।
दुर्घटनामा ६ जनाले ज्यान गुमाउनुका साथै २ जना घाइते भएका थिए । ज्यान गुमाएका पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको गत हप्ता नै सनाखत भएको दूताबासले जनाएको छ । घटनाको विषयमा छानबिन भइरहेको र शव स्वदेश फर्काउने प्रक्रिया थालिएको दूताबासले जनाएको छ ।
यसैगरी, दूताबासले ज्यान गुमाएका ६ जना नेपाली कामदारहरूको परिवारलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ ०५:११