काठमाडौं- वैदेशिक रोजगार विभागले कलंकीस्थित एक शैक्षिक परामर्श केन्द्र (एजुकेसन कन्सल्टेन्सी)मा आकस्मिक छापा मारेको छ । युनिम्याक्स एजुकेसन कन्सल्टेन्सीले वैदेशिक रोजगारसम्बन्धी गतिविधि गरेको भन्ने उजुरीका आधारमा आकस्मिक छापा मारेको विभागले जनाएको छ ।
विदेशमा पढ्न जाने विद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श दिने अनुमति लिएको उक्त कन्सल्टेन्सीले माल्टा, रोमानियालगायतका देशहरुमा कामदार पठाउने भनी सामाजिक सञ्जालबाट गैरकानुनीरुपमा विज्ञापन प्रकाशन गर्ने गरेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै कन्सल्टेन्सीले युवाहरुसँग ठूलो रकम संकलन गरेको विभागले आशंका गरेको छ ।विभागले छापा मार्ने क्रममा कन्सल्टेन्सीबाट ल्यापटप, स्क्यानिङ पासपोर्ट करिब २० थान र डिमाण्ड लेटरसहितका कागजपत्रहरु जफत गरिएको उल्लेख गरेको छ ।
कन्सल्टेन्सीका सञ्चालकलाई फेला पार्न नसके पनि त्यहाँ कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाही सुरु गरेको विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनले कार्यक्षेत्रबाहिर गएर वैदेशिक रोजगारसम्बन्धी काम गर्ने संस्थामाथि मुद्दा दायर गर्ने बताए । कार्यालयसँग मात्रै हुने दूतावासले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ०७:२५