काठमाडौं– शैक्षिक सत्र ०७६ का लागि ११ जिल्लाका ३ सय ५० जनाले वैदेशिक रोजगार छात्रवृत्ति पाउने भएका छन् । श्रम स्विकृती लिई वैदेशिक रोजगारीमा गई करार अवधिभित्र ज्यान गुमाएको वा पूर्णरूपमा अशक्त र बेपत्ता भएका कामदारका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्दै आएको वैदेशिक रोजगार बोर्डको सचिवालयले यसपटक ती विद्यार्थीहरूलाई छात्रवृत्ति दिने भएको हो ।
कामदारको पुनस्र्थापना कार्यका लागि सहयोग र कामदारका छोराछोरीलाई शैक्षिक अवसर उपलब्ध गराउने मुख्य उद्देश्यका साथ वैदेशिक रोजगार नियमावली, ०६४ को नियम ५२ को उपनियम (२)को प्रयोग गरी ‘वैदेशिक रोजगार छात्रवृत्तिसञ्चालन कार्यविधि, ०७१’ श्रम तथा सामाजिक मन्त्रालयले सञ्चालनमा ल्याएको हो ।
कक्षा ८ सम्मका विद्यार्थीले ८ हजार र ९ देखि १२ कक्षासम्मका विद्यार्थीले १२ हजार रूपैयाँ छात्रवृत्ति पाउने छन् । सचिवालयमार्फत छात्रवृत्ति पाउने ३ सय ५० जनामध्ये २७ जनाले १२ हजार रूपैयाँ र २ सय ७३ जनाले ८ हजार रूपैयाँ छात्रवृत्ति पाउने भएका छन् ।
सामुदायिक, सरकारी र निजी विद्यालय दुवैमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको छ । यसअघि सरकारी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गरिएको भए पनि हाल सरकारले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि छात्रवृत्ति पाउँदै अएका छन् । जिल्ला प्रशासन कार्यालय मातहत रहेको शिक्षा इकाई तथा समन्वय इकाइमार्फत छात्रवृत्ति उपलब्ध हुने सचिवालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ ०५:००