
काठमाडौं– श्रममन्त्री रामेश्वर राय यादवले नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच ई पार्क यंग्सिकलाई इपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सोमबार श्रममन्त्री यादव र राजदूत यंग्सिकबीच भएको भेटमा मन्त्री यादवले आगामी दिनमा नेपाली श्रमिकहरूलाई कोरियाको पेन्सन प्रणालीमा समेट्न आग्रह गर्दै इपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गर्ने कार्यमा सरकार तयार रहेको बताए ।
कोरियाले नेपाली श्रमिकहरूको कोटा बढाएमा लिखित परीक्षा तथा सीप परीक्षा पास गरेका श्रमिक प्रतिक्षामा बस्न नपर्ने मन्त्री यादवले बताएका छन् ।
यसैबीच, कोरिया रहेका नेपाली कामदारहरूको आत्महत्याको बारे राजदूत यंग्सिकले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरियामा नेपालीको बढ्दो आत्महत्या प्रति सरकारले व्यवस्थापनका गर्ने उनको भनाइ छ । नेपाली श्रमिकले गरेका कामका विषय प्रशंसा गर्दै इपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गर्न कम्प्युटरमा आधारित परीक्षा (सिबिटी) सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण कार्य छिटो सम्पन्न हुने राजदूत यंग्सिकले जानकारी दिए ।