काठमाडौं– वैदेशिक रोजगारीको क्रममा आइपर्ने विभिन्न समस्या न्यूनीकरणका लागि सासंद डा. डिला संग्रौलाले सदनमा प्रस्ताव राखेकी छन् । सांसद डा.संग्रौलाले विदेशमा रोजगारीको क्रममा हुने अकाल मृत्युवरण न्यूनीकरण र वैदेशिक रोजगार ऐनविपरीत पठाउँदा आउने संकटलाई रोक्न प्रतिनिधिसभा नियमावली, ०७५ को नियम ७१ बमोजिम प्रस्ताव राखेकी हुन् ।
उनले प्रस्तावमा वैदेशिक रोजगारीमा विगत एक दशकभित्र ७ हजार ३ सय ९० जना नेपाली युवाले प्राण विदेशमा त्यागेकाले यसरी अकालमा हुने मृत्युवरण न्यूनीकरणका लागी राज्यबाट पहल गर्नुपर्ने उल्लेख गरेकी छन् ।
त्यस्तै, वैदेशिक रोजगार ऐन, ०६४ को पूर्वस्विकृति तथा कामदार छनोट प्रक्रियामा भएको व्यवस्थाविपरीत कामदार पठाउँदा संकट सिर्जना हुनुका साथै अवैध बाटो हुँदै विदेश जानेहरूले थप समस्या निम्त्याएको डा.संगौलाले प्रस्तावमा उल्लेख गरेकी छन् ।
त्यति मात्र होइन, वैदेशिक रोजगारीमा आफ्नो घरको गर्जो टार्न ४० लाख युवा विदेशका विभिन्न सहरहरूमा पुगेकाले यसको न्यूनीकरणका लागि मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ । डा. सग्रौलाले यसको छलफल गर्नुका कारण प्रस्ट्याउदै वैदेशिक रोजगारीका समस्याहरूको दीर्घकालीन समाधान खोज्न, कोमामा रहेका युवाको उपचार, परिवारको आर्थिक सहयोगका साथै रोजगारीको अवसर प्रदान र सरकारले गरेको सम्झौताअनुसार मलेसियाली कम्पनीसँग सीधा संवादमार्फत् रोजगारी सुनिश्चित गर्न छलफल आवश्यक रहेको प्रस्तावमा उल्लेख गरेकी छन् ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६ ०६:३०