काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौँ साधारणसभामा भाग लिन आफ्नो सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता दर्ता गर्न म्याद थप भएको छ ।
यहि २४ माघमा हुने फोरमको दशौँ साधारणसभा लागि १९ गतेसम्म तोकिएको सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता दर्ता गर्ने म्याद मंगलबारसम्म थपिएको फोरमका महासचिव तारानाथ अर्यालले जानकारी दिए ।
महासचिव अर्यालका अनुसार फोरमको निर्वाचनमा अहिलेसम्म सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता लिनेको संख्या २०० भन्दा माथि पुगेको छ । जसले गर्दा अब निर्वाचन समिति गठन गरेर सहमति भएमा सहमतिबाट र नभएमा निर्वाचनबाट नयाँ कार्यसमित आउने उनले बताए । साथै विगतका वर्षहरू भन्दा फरक तरिकाले दुई हजार लेभी बुझाएर साधारण सदस्यहरूले निर्वाचनमा मतदान गर्न पाउने भएकाले यसपटक सदस्यता नवीरकण नभई फोरमको साधारण सदस्य भएकै आधारमा मतदान गर्न नपाइने महासचिव अर्यालले बताए ।
उनका अनुसार केही व्यवसायीहरू काठमाडौं बाहिर रहेका र काठमाडौंमा नै हुने व्यावसायीहरू भने कार्यव्यस्तताले नवीकरण गर्न नसकेकाले नवीकरणको म्याद थपिएको हो । यसपटक फोरमको नेतृत्व लिनेहरूको आकांक्षीहरू अनपेक्षित रूपमा बढेका छन् । विगतका अधिकांश साधारण सभाले सहमतिमा नै कार्यसमितिको चयन गरेकामा गत साधारण सभामा भने निर्वाचन नै भएको थियो । तर, यसपटक भने सहमतिमा नै जोड दिइएको बताइन्छ ।
फोरमको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ७ पदाधिकारी र १४ जना कार्यकारी सदस्यहरूसहित २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । तर कार्यसमितिका ७ पदाधिकारी र दश सदस्यसहित १७ जनाको मात्र निर्वाचन हुन्छ । बाँकी ४ जना कार्यसमिति सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । यसरी छानिएका कार्यसमितिको कार्यकाल दुई वर्षको हुने विधानमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६ ०५:५१