काठमाडौं– वैदेशिक रोजगारका नाममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा ६ करोड ५४ लाख ७५ हजार ४ सय ५ रूपैयाँ रकम दाबीको उजुरी परेको छ । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने भन्दै आए पनि गत पुस महिनामा मात्र उक्त रकम ठगी भएको भन्दै १ सय ३८ उजुरी विभागमा परेको हो ।
विभागमा परेका १ सय ३८ उजुरीमध्ये १ सय ७ संस्थागत र ३७ व्यक्तिगत हो । वैदेशिक रोजगारमा जानेको संख्या पुस महिनामा ५२ हजार पुगेको छ । सरकारले म्यानपावरमार्फत कामका लागि जान सक्ने भन्दै १ सय ७२ वटा देशका लागि स्विकृति दिएको छ । चालू आर्थिक वर्ष ०७६÷७७ को पहिलो नौ महिनामा मात्र संस्थागत अर्थात म्यानपावरले २३ करोड ९१ लाख ५ हजार १ सय ९३ रूपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरूले विभागमा ७ सय ४८ वटा उजुरी दर्ता गराएका छन् । व्यक्तिगत रूपमा भने १७ करोड ४६ लाख ६७ हजार ४१ रूपौयाँ ठगी गरेको दाबी गर्दै विभागमा २ सय ४३ उजुरी दर्ता गराएका छन । विभागले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १ सय ४४ वटा उजुरी अदालतमा दायर गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र गएको तर, व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ । नौ महिनामा २ सय ४३ वटा व्यक्तिगत उजुरीमा मुद्दा चलाइएको छ । व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा करिब १४ करोड रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ । संस्थागत रूपमा ठगिएको भन्ने निवेदनमाथि विभागले नै कारबाही गर्छ तर व्यक्तिमार्फत ठगिएको उजुरीलाई विभागले अनिवार्य प्रमाणको आधारमा दर्ता गर्ने र अनुसन्धान तथा मुद्दा शाखाका अधिकारीमार्फत वैदेशिक रोजगार न्यायाधीकरणको कार्यालयमा मुद्दा दर्ता गर्ने गरेको छ ।
विभागले पुस महिनामा १ सय ४४ जाहेरी फरफराक गरेको जनाएको छ । जस्मा ३३ लाख १५ हजार रूपैयाँ क्षतिपूर्ति दिलाइसकेको छ । विभागले पुस महिनामा आकस्मिक अनुगमन गरी ३ म्यानपावरलाई कारबाही र ७ लाख रूपैयाँ जरिवाना गराएको जनाएको छ । एक्टिभ इम्प्लोइमेन्ट सर्भिस प्रालिले भने कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता लिएको भन्ने उजुरी परेपछि सो बारे मुद्दा तथा अनुसन्धान शाखाले अनुसन्धान गरिरहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६ ०५:२१