काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व हात पार्न व्यवसायीहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यही माघ ६ गते हुने संघको निर्वाचनमार्फत नेतृत्वमा आउन व्यवसायीहरुले चारवटा प्यानल खडा गरेका छन् ।
पटक–पटक स्थगित हुँदै आएको संघको निर्वाचन हुने पक्का भएपछि वैदेशिक रोजगार व्यवसायीहरुले नयाँ नेतृत्व चयन गर्न आफू अनुकूल हुनेगरी प्यानल खडा गरेका हुन् ।संघको नेतृत्वमा जान विभिन्न राजनीतिक दलका शुभेच्छुक संघसंस्थाले छुट्टाछुट्टै प्यानल घोषणा गर्दै निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसको शुभच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट मात्रै दुई प्यानल खडा भएका छन् । जसमा कुमुद खनाल समूहको एक प्यानल र भुवनसिं गुरुङ समूहबाट अर्को प्यानल तयार भएको छ ।
खनाल समूहले आइतबार नै आफ्नो टिम घोषणा गरिसकेको छ भने गुरुङ समूहले आज घोषणा गर्दै छ । समाजवादी वैदेशिक रोजगार व्यवसायी संघसँग तालमेल गर्दै गुरूङ संयुक्त लोकतान्त्रिक प्यानल निर्माण गरेका छन् । उनलाई जातीय, भेगीय व्यवसायी संस्थाहरुको पनि समर्थन रहेको बताइन्छ ।त्यस्तै नेकपा एमालेको शुभेच्छुक संस्था प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि शनिबार आफ्नो प्यानल घोषणा गरिसकेको छ ।
प्रगतिशिल मञ्चले राजेन्द्र भण्डारीको नेतृत्वमा संघको निर्वाचनमा भाग लिन प्यानल बनाएको छ । यसैगरी नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले पनि आफ्नो प्यानल खडा गरेको छ । गणतान्त्रिक मञ्चले डा. ईश्वर जिसीको नेतृत्वमा आइतबार नै प्यानल घोषणा गरिसकेको छ । गणतान्त्रिक मञ्च र नेकपा एकीकृत समाजवादीको शुभेच्छुक संस्था एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका व्यवसायीहरु मिलेर बनेका जिसी समूहलाई व्यावसायिक प्यानल नामकरण गरिएको छ ।
संघको निर्वाचनमा प्यानल नै प्यानल बनेपछि आगामी कार्यसमितिको नेतृत्वमा कसले बाजी मार्ला भन्नेमा स्वयं व्यवसायीहरु नै द्विविधामा देखिएका छन् । विभिन्न राजनीतिक दलनिकट व्यवसायीका संगठनहरुले आपसी सहमति जुटाउन नसक्दा प्यानल घोषणा गरेर निर्वाचनमा होमिनुपरेको एक व्यवसायीले बताए ।
वैदेशिक रोजगारका क्षेत्रमा भएका र देखिएका समस्या समाधान गर्न एकजुट भएर लाग्नुपर्नेमा व्यवसायी नै विभाजित भएर निर्वाचनमा जानु दुःखद भएको उनको भनाइ छ । यसअघि पनि व्यवसायीहरुको मतभेद हुँदा एक पटक चारवटै प्यानल बनेको ती व्यवसायीले स्मरण गरे ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १०:३४