काठमाडौं– वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनामा ५२ हजार २ सय २५ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । विभागका अनुसार पुस महिनामा संस्थागत श्रम स्वीकृतिमार्फत २७ हजार ४ सय ४२ जना, पुनः स्विकृति गरेर २२ हजार ५ सय ६८ जना, नयाँ व्यक्तिगत श्रम स्विकृतिमार्फत १२ सय ७१ जना, वैधानिकरण गरेर ९ सय ४४ जना कामदार गएका छन् ।
मंसिर महिनाको तुलनामा पुसमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या ३ हजारभन्दा बढीले बढेको छ । मंसिर महिनामा २४ हजार २९ जना संस्थागत रूपमा श्रम स्वीकृति गरी वैदेशिक रोजगारीमा गएका थिए ।
पुसमा १२ हजार ५ सय ८४ जना साउदी अरब गएका छन् भने ११ हजार ८ सय ४० जना कतार गएका छन् । युएई जानेको संख्या १० हजार ७ सय १६ रहेको छ । मलेसिया जानेको संख्या १० हजार ६ सय ३ जना रहेको छ । पुस महिनामा सर्वाधिक नेपाली कामदार रोजगारी लागि साउदी अरब गएका छन् । सस्थागत रूपमा वैदेशिक रोजगारीमा सर्वाधिक द रिभर इन्टर्नेसनल प्रालिले ५ सय ९३ जना, प्यराडाइज इन्टर्नेसनल प्रालिले ४ सय ५१ जना र कोसी प्रालिले ४ सय ३२ जना पठाएका छन् भने ५३ म्यानपावरले १ जना मात्र पठाएका छन् । ८६ म्यानपावरले भने १ जना पनि पठाउन सकेका छैनन् ।
पुस महिनामा १७ हजार ६ सय ६ जना दक्ष कामदार रोजगारीमा गएका छन् भने २९ हजार ९ सय ६५ जना अदक्ष कामदार रोजगारीमा गएका छन । अर्धदक्ष कामदारको संख्या ४ हजार ६ सय २० जना, व्यवसायिक कामदारको संख्या २८ जना र उच्च दक्ष कामदारको संख्या ६ जना रहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६ ०५:२३