काठमाडौं- दक्षिण कोरियाले व्यावसायिक वा गैरव्यावसायिक रुपमा कोरिया पुगेर अवैध बसोबास गरिरहेका विदेशी नागरिकलाई फेब्रुअरी २८ सम्म आफ्नो देश छाड्न उर्दी जारी गरेको छ ।
कोरियाको न्याय मन्त्रालयले गैरकानुनीरुपमा बसेका विदेशीहरुले स्वेच्छिकरुपमा फेब्रुअरी २८ सम्म कोरिया छाड्नुपर्ने योजना लागू गर्न लागिएको भन्दै सूचना जारी गरेको छ ।
सिउलस्थित नेपाली दूतावासले त्यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै गैरकानुनीरुपमा बसेका नेपालीहरुलाई उपयुक्त समयको लाभ लिन आग्रह गरेको छ । कोरिया सरकारले सीमित अवधिका लागि मात्र उक्त योजना लागू गर्न लागेको भन्दै दूतावासले पासपोर्ट, हवाई टिकट र स्वइच्छाले कोरिया बाहिरिने घोषणा गरेको कागजात पेस गरी जरिवाना तथा अन्य कारबाहीबाट बच्न सम्बन्धित सबैलाई जानकारी गराएको छ ।
कोरिया छाड्ने स्वघोषणा गरेका आवेदकहरुले अध्यागमन कार्यालयमा गएर वा अनलाइन घोषणा फाइल गरेर आवश्यक प्रक्रिया पूरा गरी बन्दरगाह वा एयरपोर्टहरुबाट कोरिया छाड्नुपर्ने बताइएको छ । यस कार्यक्रममा सहभागी हुन म्याद समाप्त हुनुभन्दा कम्तीमा तीन दिनअघि नै स्वघोषणा गरिसक्नुपर्ने त्यहाँको कानुन मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ ०८:५३