काठमाडौं- वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर फरार रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दुबई पुगेपछि एक प्रतिष्ठित कम्पनीमा आकर्षक रोजगारी दिलाइदिने भन्दै दुई लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वर्किङ भिसामा वैदेशिक रोजगारीका लागि आकर्षक आम्दानी हुने लोभ देखाएर तीन लाख रुपैयाँ लाग्ने भन्दै पीडितसँग पटक–पटक गरी दुई लाख ८७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर बस्ने मेची नगरपालिका, झापा घर भएका ३४ वर्षीय नीलकण्ठ अधिकारीलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको टीकाथलीबाट पक्राउ गरेको जनाएको छ ।अधिकारीले दुबईको एक प्रतिष्ठित कम्पनीमा ७० हजार रुपैयाँभन्दा बढी तलब हुने भनी प्रलोभनमा पारेर रकम लिएर फरार भएको बताइएको छ ।
पीडितबाट रकम संकलन गरी सम्पर्कसमेत नगरी फरार रहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका अधिकारीलाई वैदेशिक रोजगार विभागमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ ०७:४८