काठमाडौं - सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन बिहीबार वैदेशिक रोजगारीका लागि सञ्चारमाध्यमले खेल्नसक्ने भूमिकाका सम्बन्धमा आयोजित छलफलमा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् ।
मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा कानुनविद् सोम लुईंटेलले वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीहरुले श्रम गन्तव्य मुलुकमा पुगेपछि भोग्नुपर्ने समस्याबाट बेखबरजस्तै देखिएका कारण जनचेतानाका लागि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वैदेशिक रोजगारको क्षेत्रमा वकालत गर्दै आएका लुईंटेलले कामदारका पक्षमा अभाव देखिएका नीति निर्माणका लागि सम्बन्धित निकायहरुलाई सञ्चारमाध्यमले घच्घच्याइ रहनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारसम्बन्धी अनुसन्धानमुलक रिपोर्टिङलाई अझै बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले सञ्चारमाध्यमकै कारण वैदेशिक रोजगार क्षेत्र सुधारोन्मुख बन्दै गएको धारणा राखे । पत्रकारहरूकोे क्षमता अभिवृद्धिका लागि सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि कमल थापा क्षेत्रीले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलिरहेको भन्दै राज्यले वैदेशिक रोजगारमा रहेका र फर्केका कामदारहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।
उनीहरुको अधिकार र योगदानलाई सञ्चारमाध्यमले प्राथमिकतासाथ उठान गर्नुपर्ने उनले बताए । पिपुल फोरमले वैदेशिक रोजगारमा गएर विभिन्न परिस्थितिबाट प्रभावित भएका नेपालीहरुलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ ०९:२८