काठमाडाैं - कात्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे छ । साउनदेखि कात्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएकाे छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको कात्तिकमा रेमिट्यान्स सात प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड पुगेको छ ।
यस्तै चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ सय २ दशमलव ५ प्रतिशतले वृद्धि भइ एक लाख ९५ हजार एक सय ९६ जना पुगेको छ ।
त्यसैगरि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६ दशमलव ४ प्रतिशतले वृद्धि भइ ८७ हजार चार सय २८ जना पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १७:४०