काठमाडौं– वैदेशिक रोजगारमा कतार पुगेका श्यामबहादुरी गिरीले विदेशबाट फर्केर गाईपालन व्यवसाय सुरु गरेका छन् । सोलुखुम्बु घर भएका गिरीले ४ वर्षसम्म विदेशमा बसेर कमाएको पैसा र सिकेको सीपले विदेशमा जस्तो दुःख नेपालमै गरे सफल बन्ने उद्देश्यले करिब ४० लाखको लगानीमा गोकर्णमा गाईपालन थालेका हुन् ।
उनले भने, ‘विदेशमा जस्तो दुःख नेपालमा लाज नमानी गरेमा निकै राम्रो आम्दानी गर्न सकिन्छ । तर युवाहरू नेपालमा काम गर्न लजाउँछन् । मैले विदेशमा सिकेको सीप र कमाएको पैसाले गाईपालनबाट विदेशमा भन्दा राम्रै कमाइरहेको छु ।’
उनको फार्ममा अहिले ३० वटा गाई ,५ वटा भैँसी र केही बाख्राहरू पनि रहेका छन् । मासिक दूध बेचेर करिब ५ लाख रूपैयाँ जति कमाइरहेको गिरी बताउँछन् । उनी भन्छन्, ‘मैले विदेश जाँदै नजानु भनेको होइन, सीप सिकेर विदेश जाँदा राम्रै हुन्छ, तर विदेशमा केही समय बसेर आएपछि पनि त्यहाँ सिकेको सीप र पैसालाई सही सदुपयोग गरेमा नेपालमै राम्रो आम्दानी गरेर बस्न सकिन्छ । यसले गर्दा विदेशबाट फर्केमा मजस्ता नेपाली र विदेश जाने तयारीमा रहेका युवाहरू विदेशिने क्रम विस्तारै घट्छ ।’
उनले फार्ममा ५ जना काम गर्ने मान्छे राखेका छन् । प्रत्येकलाई उनले १५ हजार मासिक तलब दिइरहेका छन् । २ वर्ष अगाडि भाडामा लिएर करिब २ रोपनी जग्गामा व्यवसाय सुरु गरेका गिरीलाई अहिले पैसाको कमी छैन । पहिले फर्म सुरु गर्दा एक दुई लाख ऋण नपत्याउनेहरू अहिले जति पैसा दिन तयार भएको उनी बताउँछन् । उनी अब फार्ममा अझै गाई र भैँसी थप्ने सोचमा छन् । तर गाई भैँसीका लागि सहरनजिक भएकाले घाँसपातको समस्या भएको उनी बताउँछन् । उनले काठमाडौंमा घर बनाउनका लागि जग्गासमेत किनिसकेका छन् । अब चाँडै घर पनि बनाउने सोचमा भएको गिरी बताउँछन् । अहिले उनको गाई फार्म अवलोकन गर्न दिनमा १० देखि १५ जना मानिसहरू आउँछन् । अवलोकन गर्न आउने सबैले एक उदाहरण पात्र भन्दै बधाई दिने गरेको उनी बताउँछन् ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६ ०५:०९