
दोहा– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ओमनका सुल्तान काबुस बिन तारिक बिन ताइमुर बिन अल सइदको निधनप्रति नेपाल सरकारको तर्फबाट ओमनको सरकार र ओमानका जनताप्रति समवेदना प्रकट गरेका छन् ।
मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम बिन तारिक बिन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेको ओमनस्थित नेपाली दूताबासले जनाएको छ ।
मन्त्री पुनले ओमनको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामनासमेत व्यक्त गरेका थिए । भेटमा सुल्तान हाइतमले समवेदना व्यक्त गर्ने नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपालीलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।
भेटमा सुल्तान हाइतम बिन तारिक बिन ताइमुर अल सइदले नेपाल र ओमनबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गरेको दूताबासले जनाएको छ । समवेदना प्रकट गर्ने ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंको सहभागी थिए ।
मन्त्री पुन अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघ (आइरिना)को १०औँ साधारणसभामा सहभागी हुन युएइ पुगेको र त्यहीँबाट ओमन पुगेर समवेदना प्रकट गरेको दूताबासले जानकारी दिएको छ ।