काठमाडौं– वैदेशिक रोजगारको सिलसिलामा खाडीमा रहेका नेपालीहरूप्रति सरकारले चिन्ता लिएको छ । केही दिनयता अमेरिका र इरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे सरकारको चिन्ता सुरु भएको हो ।
दुई देशको तनाव बढ्दा इरान र इराकसँंगै मध्यपूर्वका अरु देशमा पनि असर पर्ने भएकाले समस्या समाधानका लागि सरकारले समन्वय समिति गठन गर्ने भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा बसेको बैठकले अन्तर्निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिका र इरानबीच देखिएको द्वन्द्वका कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै यसअघि नै परराष्ट्र मन्त्रालयले खाडी मुलुकहरूमा रहेका नेपाली राजदूताबासलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको थियो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्बन्धित राजदूताबासका राजदूतहरूलाई फोन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिँदै २४सै घन्टा उच्च सतर्कता अपनाउनमा रहन आग्रहसमेत गरेका थिए ।
समितिमा परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिको समेत सहभागिता रहने बताइएको छ ।
सरकारले इराकमा काम गर्न जान रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । साउदीमा झन्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन् । युएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोर्डनमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्यांक छ । त्यसैले अमेरिका र इरानबीच द्वन्द्व बढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरूमा असर पर्दछ ।
बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च प्रतिनिधिहरूको उपस्थिति रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६ ०६:२९