काठमाडौं– कोरियाले २०२० मा उत्पादन र कृषिबाहेकका क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । कोरियाले यसअघि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादन र कृषि क्षेत्रमा मात्रै कामदार लैजाँदै आए पनि यस वर्षदेखि माछापालन, निर्माण र अन्य बाँकी रहेका गरी ६ वटा क्षेत्रमा कामदार लैजाने मन्त्रालयले जनाएको छ ।
यस वर्ष नेपालसहित अन्य १६ राष्ट्रबाट उत्पादन क्षेत्रका लागि ४० हजार ७ सय, कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ४ सय, माछापालन क्षेत्रका लागि ३ हजार, निर्माण क्षेत्रका लागि २ हजार ३ सय र बाँकी अन्य क्षेत्र गरी ५६ हजार कामदार लैजाने दक्षिण कोरिया श्रम तथा रोजगार विगागद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा नेपालबाट लैजाने कामदारको संख्या भने खुलाइएको छैन । तर नेपालबाट २०२० मा भाषा परीक्षाको साथै सीप परीक्षासमेत भएकाले अन्य वर्षको तुलनामा धेरै कामदार लैजाने शाखाको अनुमान छ ।
बर्सेनि कोरियाको मानव संसाधन केन्द्र (एचआरडी)ले नेपालबाट कामदार लैजाँदै आए पनि अहिलेसम्मको तथ्यांकमा धेरै विद्यार्थी भाषा पास गरेर पनि जान नपाएको गुनासो छ । २०१७ मा भाषा परीक्षा पास गरेका सोलुखुम्बुका किशोर कार्की पनि कोरिया जान पाएका छैनन् । आफूले निकै दुःख गरेर दुई वर्षमा नाम पनि निकालिए पनि कोरिया जान नपाएको उनी बताउँछन् ।
त्यस्तै, २०१६ मा भाषा पास गरेका नवलपरासीका आकाश हमाल ठकुरीले भने, ‘भाषा पास गरेर म कोरिया जान पाइनँ, कोरियाले मजस्ता धेरैको सपना लुटेको छ ।’
त्यसो त, सन् २०१७ र २०१८ मा भाषा परीक्षामा उत्तीर्ण गरेका करिब आधा विद्यार्थी कोरिया जान पाएका छैनन् । तर, एचआरडीले केही महिनाअघि २०१९ को भाषा परीक्षाको नतिजा निकालेपछि ०१७ र ०१८ मा उत्तीर्ण भएकाहरू आन्दोलनमा उत्रिएका थिए । अहिले २०१९ मा सीप परीक्षामा फेल भएका विद्यार्थी पनि सीप परीक्षा प्रभावकारी नभएको, कम क्षमता भएको विद्यार्थीलाई उत्तीर्ण गराएपछि खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । त्यसैले अनुत्तीर्ण भएको विद्यार्थीको गुनासोको विषयमा छलफल गर्दै विभागले पुरानालाई विद्यार्थीलाई प्राथमिकता दिने भन्दै एक सूचना जारी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६ ०६:२४