काठमाडौं– वैदेशिक रोजगार विभागले ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेम्स) को प्रयोग गर्दै जाँदा कमी कमजोरी देखिएमा यसलाई परिमार्जन गर्दै लैजाने विभागका सूचना अधिकारी भोलानाथ गुरागाइँले बताएका छन् । विभागले फेम्सलाई अनिवार्य गरेपछि विकट र कम शिक्षित वर्गको पहुँच नपुग्ने भन्दै यसको प्रयोग गर्न कठिनाइ हुने भनेर वैदेशिक रोजगार व्यवसाय संघले आपत्ति जनाएपछि सूचना अधिकारी गुरागाईँले बताए ।
संघले दाबी गरेअनुसार कठिनाइको कुरालाई सूचना अधिकारी गुरागाईँले अर्थहीन भएको पनि बताएका छन् । उनका अनुसार कुनै पनि नियम कार्यान्वयनमा नआउँदै गलत वा सही भन्नु अर्थहीन हुन्छ । त्यसमाथि अहिलेको अवस्थामा वैदेशिक रोजगारमा पलायन हुने जनशक्तिले सामाजिक संजालमा पहुँच राख्दैनन्, त्यसैले अनलाइन प्रणाली उपयुक्त नभएको भनाइमा कुनै सत्यता नदेखिएको उनले बताए ।
व्यवसायीले उठान गरेको अटोमोडमा समस्या देखिएमा आवश्यक अनुरूप परिमार्जित गर्ने गुरागाई बताउँछन् । विभागले १ जनवरी २०२० देखि लागू हुनेगरी फेम्स¬मा अतिरिक्त एटेस्टेसन मोडुल र कामदार छनोट मोडुयल थप गरेको छ । यस प्रणालीले वैदेशिक रोजगारमा जाने कामदार छनोट भएर भिसा आएस“गै काम गर्नुपर्ने कम्पनीको नाम, तलब, र खान बस्नेको सुविधाजस्ता सम्पूर्ण जानकारी कामदारलाई एसएमएसबाट नै दिने विभागको दावी छ ।
सघंका महासचिव सुजित श्रेष्ठले भने नेपालको अवस्थामा न्यून शिक्षित जनशक्ति वैदेशिक रोजगारमा पलाएन हुने भएकाले अनलाइन प्रणाली तत्कालीन अवस्थामा उपयुक्त नभएको दाबी गरेका छन् । उनका अनुसार विज्ञापन प्रकाशित गरेको १५ दिनभित्र मागपत्र पूर्ति गर्नु पर्ने व्यवस्थाले म्यानपावर व्यवसायीलाई दोहोरो आर्थिक भारमा पारेको र व्यवसायीले अन्तर्वार्ताका साथै सम्पूर्ण प्रक्रियाका कागजपत्र विभागमा जम्मा गराए पनि अटोमोड नभएकाले अतिरिक्त समय लाग्ने र ढिलो हुन्छ । यसले गर्दा फेम्सले व्यवसायीलाई नै अरु झन्झट सिर्जना गर्ने सम्भावना उनी देख्छन् ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६ ०६:५९