काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने कामदारहरूको म्यादी जीवन बिमा गर्नका लागि बिमा कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । म्यादी बिमा गर्नका लागि विभागमा १४ वटा बिमा कम्पनीहरू दर्ता भएकामा हाल ४ वटाले मात्रै सेवा प्रदान गरिराखेकामा अब बिमा गर्न चाहने बिमा कम्पनीहरू अनिवार्य सूचीकृत हुनुपर्ने भन्दै विभागले एक सूचना जारी गरी इच्छुक कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गरेको हो ।
वैदेशिक रोजगार ऐन, ०६४ को व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने कामदारहरूको अनिवार्य म्यादी बिमा गर्नुपर्ने हुन्छ । यसका लागि श्रम स्वकृतिका लागि निवेदन गर्दा आवेदनको साथमा म्यादी बिमा गराएको प्रमाणसमेत पेस गर्नुपर्ने हुनाले सूचीकृत बिमा कम्पनीले मात्र बिमा गर्न पाउने पनि विभागले जनाएको छ ।
विभागका अनुसार विभागमा १४ वटा बिमा कम्पनीहरू दर्ता भएको भए पनि हाल सूर्य, नेसनल, रिलायबल र युनियन बिमा कम्पनीहरूले मात्र म्यादी बिमा गर्दै आएका छन् । यसका लागि विभागले आगामी २४ पुससम्म सूचीकृत हुन भनेको छ ।
विभागका अनुसार अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै सुरु भएको वैदेशिक रोजगार व्यस्थापन सूचना प्रणाली (फेम्स) मा सूचीकृत हुन बिमा कम्पनीहरूलाई भनेको छ । हाल बिमा गरिरहेका जीवन बिमा कम्पनी र म्यादी बिमा गर्न चाहने अन्य कम्पनीलाई तोकिए बमोजिमको प्रिमियम बापतको मूल्यमा कुनै पनि सेवा शुल्क नकटाई अनलाइनमार्फत भुक्तानी गर्न आह्वान गरेको हो ।
नयाँ वर्षको सुरुवातसँगै वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले अनलाइन भुक्तानी गर्न सकिने सेवाको प्राविधिक तयारी पूरा गरिसकेकाले अनलाइनमार्फत भुक्तानी गर्न इच्छुक संस्थाहरूले संस्था दर्ताको आधिकातिक कागजातको प्रतिलिपिसहित निवेदन दिन सकिने विभागले जनाएको छ । तर यसअघि नै प्रियियमबापतको रकम अनलाइन भुक्तानी गर्न कुनै संस्थासँग सम्झौता गरिसकेको भए बिमा कम्पनीले उक्त विवरणको फोटोकपी पेस गर्नुपर्ने जनाएको छ ।
श्रम स्वकृतिको लागी निवेदन गर्दा नेपाल सरकारको कानुनमा दर्ता भएको जुनसुकै विमा कम्पनीबाट पनि गर्न सकिने व्यवस्था छ ।
यसैबीच, विभागले ल्याएको फेम्समा पाँच वटा मुलुकमा रहेका नेपाली राजदूताबास जोडिएका छन् । अहिलेसम्म कागजात प्रमाणीकरण फेम्समार्फत मलेसिया, कतार, ओमन, युएई र कुवेत रहेको महानिर्देशक डा.विष्णुकुमार भुसालले जानकारी दिएका छन् । साथै चाँडै दक्षिण अफ्रिका पनि फेम्समा जोडिने उनले बताए ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६ ०५:३७