
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकार सम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई पुनर्संरचना गरी अधिकार सम्पन्न संस्थाका रूपमा विकास गरिने बताएका हुन् ।
प्रतिष्ठानमा आयोजना गरिएको छलफलमा मन्त्री श्रेष्ठले एक दर्जनभन्दा बढी सरकारी निकायले उस्तै प्रकारको तालिम कार्यक्रम सञ्चालन गरे पनि परिणाममुखी नभएकाले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको तालिम प्रदान गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि तयारी अघि बढाइएको जानकारी दिए । मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न यस्तो प्रतिष्ठान निर्माण गर्न लागेको उनले बताए ।
ठूलो संख्यामा श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्यांक प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरूलाई रोजगारीमा आबद्ध गराउने योजनाअनुसार यो परियोजनालाई अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले प्रतिष्ठानको स्तरोन्नति गरी सीप परीक्षण तथा प्रमाणीकरणको व्यवस्थासमेत गरिने बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सचिव अर्यालले बताए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले आफ्नै प्रत्यक्ष व्यवस्थापन तथा तालिम प्रदायक संस्थामार्फत आधारभूत तालिम, उद्यमशील तालिम, प्रशिक्षक प्रशिक्षण गरी तीन लाख १० हजारभन्दा धेरैलाई प्रतिष्ठानले तालिम प्रदान गरिरहेको बताए । तालिम सञ्चालनको छुट्टै नीति तथा कानुनको अभावले सीप विकास तालिम व्यवस्थित हुन नसकेको उनले बताए ।