
काठमाडौं– कैलालीका हरिप्रसाद जैसीले यस वर्षको ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेकाहरूमध्येबाट जैसीलाई उत्कृष्ट उद्यमीको पुरस्कार प्रदान गरेको हो ।
मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलतामा प्रोत्साहित गर्न हरेक वर्ष उत्कृष्ट उद्यमी छनोट गरेर पुरस्कृत गर्दै आएको छ । पुरस्कृत जैसी कैलालीको लम्बीचुहा नगरपालिका–१ का बासिन्दा हुन् । जैसीले पुरस्कारस्वरूप एक लाख ५० हजार रूपैयाँ हात पारेका छन् । रोजगारीका लागि सात वर्ष कोरिया बसेर आएका जैसीले सुदूरपश्चिम प्रदेशको कैलालीमा करुणा गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका छन् । उनले सो उद्योगमार्फत अहिले ४५ जनालाई रोजगारी प्रदान गरिरहेका छन् ।
‘कोरिया गरेर पुँजी जम्मा गरेर उद्योग खोलेको र सुरुमा आठ जनालाई रोजगारी दिएको र अहिले ४५ जनालाई रोजगारी प्रदान गरेको छु,’ उनले भने, ‘अहिले घर परिवारका चार जना सदस्य तथा बाहिरका ४५ जनालाई रोजगारी दिएको छु ।’ व्यवसाय गर्नका लागि खुला सिमाना रहेको भारतीय बजारबाट आउने कमसल सामानसँग प्रतिस्पर्धा गर्न ठूलो चुनौती रहेको उनले बताए । अहिले उद्योग सञ्चालन गर्नका लागि थ्री फेजको विद्युत्समेत उपलब्ध हुन नसकेको उनले गुनासो गरे ।
सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कार
मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर उद्यममा संलग्न अन्य सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा हुनेमा गण्डकी र सुदूरपश्चिम प्रदेशका दुई–दुई जना तथा कर्णाली, बागमती, लुम्बिनी र प्रदेश १ का एक/एक जना हरेका छन् । सुदूरपश्चिम प्रदेशबाट कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित रोयल कृषि फार्मका सञ्चालक अमृतबहादुर शाही, गण्डकी प्रदेशबाट कास्कीस्थित पोखरा वास इण्डस्ट्रिज प्रालिका सञ्चालक सुनिल कार्की र तनहुँको घिरिङ गाउँपालिका–३ मा रहेको डिकेजी कृषि तथा पशु फार्मका सञ्चालक मेखनाथ गुरुङ रहेका छन् । प्रदेश १ बाट कसेनी कृषि फार्म मिक्लाजुङ गाउँपालिका–६ मोरङका हेमकुमार झाकोटे मगर, बागमती प्रदेशबाट दोलखा जिल्लामा रहेको ग्लोबल कृषि तथा पशुपक्षी फार्मका सञ्चालक शंकरकुमार वली र लुम्बिनी प्रदेशको बुचा कृषि तथा पशुपक्षी फार्म गुल्मी दरबार गाउँपालिका–५ गुल्मीका गुणबहादुर बुचा पुरस्कृत भएका हुन् ।
उनीहरूले जनही ७५ हजार राशिको पुरस्कार पाएका छन् । उनीहरू सबैलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्मानपत्र र खादा लगाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले अहिले प्रतिनिधिमूलक रूपमा सम्मान गरिएको र यसले अरूलाई समेत प्रोत्साहन गर्ने बताएका छन् । उद्यम गर्दा कुनै समस्या भएको खण्डमा जानकारी पाएपछि त्यसलाई समाधान गर्नका लागि आपूmले पहल गर्ने मन्त्री श्रेष्ठले बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेश गएर पुँजी जम्मा गरी अन्यलाई रोजगारी दिनु सकारात्मक भएको बताए । आफूले विदेशमा सिकेको सीप–ज्ञानलाई सदुपयोग गरेर उदाहरणीय काम गरेको भन्दै उनले समाजका अरुले यसबाट शिक्षा लिन सक्नुपर्ने बताए । विदेशबाट फर्केर आएकाहरूका लागि मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गरेर पनि सहयोग गर्ने उनको भना थियो ।
उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका दोलखाका वलीले सम्मानले थप प्रोत्साहन मिलेको बताएका छन् । ‘पहुँचवालाले मात्रै प्राप्त गर्छन् भन्ने सुनेको थिएँ, तर होइन रहेछ । सम्मानित हुँदा थप ऊर्जा मिलेको छ,’ उनले भने । आफूले सानो पुँजीबाट फार्म सुरु गरेको र अहिले चार जनालाई रोजगारी दिन सफल भएको उनले सुनाए । विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिम उनीहरूलाई पुरस्कारका लागि छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार पुरस्कारका लागि ८३ आवेदन परेका थिए । ती मध्ये रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यातको अवस्था, सामाजिक दायित्व बहन, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्र आदिका आधारमा छनोट गरिएको बताइएको छ ।