
काठमाडौं– वैदेशिक रोजगारीमा जानका लागि गरिने संस्थागत श्रम स्वीकृति अबदेखि अनलाइन प्रणालीबाट हुने भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूले नयाँ वर्ष २०७९ देखि अनलाइनबाटै सेवा लिनसक्ने भएका हुन् ।
वैदेशिक रोजगार विभागको श्रम कार्यालय ताहाचलले २ वैशाखदेखि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थितिविना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई अनलाइनबाटै सेवा सुरु गरिने जानकारी गराएको हो ।
यसका साथै कम्तीमा तीन कार्यदिन अघि नै पूर्वश्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिनसमेत कार्यालयले अनुरोध गरेको छ ।