
काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकको रूपमा रहेको मलेसियामा करिब पाँच लाख विदेशी श्रमिकको माग भएको छ । मलेसियाका रोजगारदाता कम्पनीहरूले चार लाख ७५ हजार ६७८ विदेशी श्रमिक माग गरेको त्यहाँको मानव संशाधन मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना महामारीका कारण लामो समयसम्म विदेशी श्रमिक नलिएको मलेसियामा अहिले श्रमिकको अभाव रहेको बताइएको छ । सन् २०१९ देखि मलेसियाले विदेशी श्रमिक लैजान बन्द गरेको थियो । अहिले कोरोना महामारीको जोखिम कम हुँदै गएकाले श्रमिकको माग बढेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको तथा सामाजिक गतिविधिसमेत बढेपछि श्रमिकको अभाव भएको समाचारमा जनाइएको छ । मलेसियाले गत जनवरीदेखि नै विदेशी श्रमिक लिने निर्णय गरेको थियो ।
मलेसियाको मानव संशाधन मन्त्रालयका अनुसार त्यहाँका विभिन्न कम्पनीहरूले गरेको मागमा निर्माण क्षेत्रमा काम गर्ने श्रमिक धेरै रहेको बताइएको छ । निर्माण क्षेत्रमा दुई लाख ९० हजार २४८ जनाको माग भएको समाचारमा उल्लेख गरिएको छ । त्यस्तै सेवा क्षेत्रमा ७७ हजार, प्लान्टेसन क्षेत्रमा ५३ हजार ८५४ र कृषि क्षेत्रमा ११ हजार ३७ जना श्रमिकको माग भएको बताइएको छ । खानी क्षेत्रका लागि भने २२ जना विदेशी श्रमिकको माग गरिएको जनाइएको छ ।
यसअघि मलेसिया सरकारले सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको थियो । त्यहाँका प्रधानमन्त्रीले आगामी मे महिनादेखि लागू हुनेगरी सबै श्रमिकको पारिश्रमिक बढाएर न्यूनतम एक हजार ५०० रिंगेट बनाउने घोषणा गरेका हुन् । केही कम्पनीहरूले श्रमिकको अभावका कारण अप्रिल महिनादेखि नै श्रमिकको पारिश्रमिक बढाइसकेको समाचारमा जनाइएको छ ।