
काठमाडौं– दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुकहरूका लागि सञ्चालन गरिने कोरियाली भाषा परीक्षामा सहभागी हुन करिब ४५ हजार जनाको आवेदन परेको छ । यही १४–२१ चैतको अवधिमा ४४ हजार ८८९ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमध्ये उत्पादन क्षेत्रमा ३३ हजार ९९४ जना र कृषि तथा पशुपालन क्षेत्रमा १० हजार ८९५ जना रहेको इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।
भाषा परीक्षाका लागि आवेदन दिने अन्तिम समयावधि गत सोमबार राति १२ बजेसम्म तोकिएको थियो । इपिएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले यस पटकदेखि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै समयमा परीक्षा सञ्चालन हुने बताए । परीक्षा तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । यसपटक एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
कृषि तथा पशुपालन क्षेत्रका लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा भाषा परीक्षा सञ्चालन हुनेछ । यस्तै, उत्पादन क्षेत्रका लागि पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म भाषा परीक्षा सञ्चालन हुने निर्देशक कटुवालले बताए ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष कोरियाली भाषाको परीक्षा सञ्चालन हुन सकेको थिएन । सन् २०२२/२३ का लागि दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१३ र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ गरी नौ हजार ६५४ जना श्रमिक लैजाने तयारी गरेको छ ।