
काठमाडौं– सरकारले रुस–युक्रेन युद्धका कारण असुरक्षा बढेको भन्दै युरोपका तीन देशका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धका कारण नेपालले ससेल्स, क्रोयसिया र मोरिसस जाने श्रमिकको श्रम स्वीकृति बन्द गरेको हो ।
रुस–युक्रेन युद्ध चर्किंदै गएका कारण रोजगारीका लागि गएका श्रमिकहरू असुरक्षित हुने भन्दै तत्कालका लागि यी देशको श्रम स्वीकृति जारी नगर्ने मन्त्रालयले जानकारी दिएको छ । ती मुलुकमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपाली श्रमिक धेरै रहेको तथ्यांक छ ।
वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयले मन्त्रालयको निर्देशनअनुसार ती मुलुकमा जाने नेपाली श्रमिकको श्रम स्वीकृति रोकेको जानकारी दिएको छ । व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा जाँदा जोखिम बढी रहने सरकारी तथा गैरसरकारी अध्ययनहरूले देखाउने गरेका कारण तत्कालका लागि श्रम स्वीकृति रोकिएको विभागले जनाएको छ ।
व्यक्तिगत रूपमा भन्दा पनि म्यानपावर कम्पनीमार्फत रोजगारीमा पठाउनुपर्ने आवाजसमेत उठिरहेको छ । अहिले मुलुकमा ८०० भन्दा बढी म्यानपावर कम्पनी रहेका छन् । यी कम्पनीमार्फत श्रमिक पठाउँदा वास्तविक विवरण राख्नसमेत सहज हुने बताइएको छ ।
यी देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर मासिक २०० भन्दा धेरै नेपाली रोजगारीका लागि जाने गरेको विभागको तथ्यांक छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि हालसम्म ५८१ जना नेपालीले युक्रेन छाडेको बताइएको छ ।