
काठमाडौं– वैदेशिक रोजगार विभागले श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिएको छ । साथै, बिमा रकम भुक्तानीसम्बधी सेवासमेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने निर्णय गरिएको विभागले जानकारी दिएको छ ।
श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्न विभागले सरोकारवालासमक्ष अनुरोध गरेको छ । श्रम स्वीकृति रद्द गर्नका लागि विभागमा आइरहनु नपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । बिमा रकम भुक्तानीका लागि विभागबाट सम्बन्धित श्रमिकले श्रम स्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधानसमेत हटाइएको विभागले जनाएको छ ।
सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाटै श्रम स्वीकृति लिए/नलिएको रूजु गर्नसक्ने व्यवस्था मिलाइएको महानिर्देशक पौडेलले बताए ।