काठमाडौं– त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्याय युएईमा पक्राउ परेका छन् । आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा युएई पुर्याई अलपत्र पारेको आरोपमा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।
केही दिनअघि युएई भ्रमणका क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच यस्तो कार्यमा संलग्नलाई कारबाही गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको थियो ।
युएई सरकारले कानुनी प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार उपाध्यायलाई पक्राउ गरिएको जानकारी दिइएको छ । उपाध्यायले नेपालीलाई युएईमा अलपत्र पारेको र ठगी गरेको उजुरी परेको थियो । उपाध्यायलाई पक्राउ गरेको जानकारी त्यहा“को प्रहरीले नेपाली दूतावास आवुधाबीलाई गराएको जनाइएको छ ।
युएई भ्रमणका क्रममा श्रममन्त्री श्रेष्ठ र त्यहा“का मानव संशाधन मन्त्री अवारबीच युएईमा अलपत्र परेका नेपालीहरूको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको थियो ।
नेपाली समुदायको कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने बताएका थिए ।