काठमाडौं– गत फागुन महिनामा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिने ४७.३८ प्रतिशतभन्दा बढी श्रमिक अदक्ष रहेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको फागुन महिनाको तथ्यांकमा यस्तो देखिएको हो । यस महिनामा नेपालबाट कूल ५३ हजार ४६७ जना श्रमिक विदेशिएका छन् ।
विभागको तथ्यांकअनुसार एक महिनाको अवधि (फागुन)मा २५ हजार ३२९ जना अदक्ष श्रमिक रोजगारीका लागि विभिन्न देशमा गएका छन् । उक्त महिनामा नेपालबाट ४३.१४ प्रतिशत दक्ष जनशक्ति विदेश गएको विभागले जनाएको छ । कुनै न कुनै सीप सिकेर दक्ष भएका २३ हजार ६६ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् ।
नेपालबाट रोजगारीको खोजीमा विदेश जानेमध्ये चार हजार ९९६ जना अर्धदक्ष श्रमिक रहेको विभागको तथ्यांकमा उल्लेख छ । यो संख्या फागुनभित्र विदेश गएका कूल संख्याको ९.३४ प्रतिशत हुन आउँछ । नेपालबाट व्यावसायिक दक्षता हासिल गरेर विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या जम्मा ६८ जना रहेको देखिन्छ ।
यो जम्मा एक महिनामा विदेश गएकाको ०.१२ प्रतिशत हो । उक्त अवधिमा उच्च दक्षता भएका जम्मा आठ जनामात्रै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।
कुन कम्पनीले कति पठाए ?
फागुन महिनामा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने कम्पनीहरूमध्ये प्याराडाइज इन्टरनेसनल प्रालि अगाडि देखिएको छ । उक्त कम्पनीले फागुनमा सबैभन्दा धेरै ५५६ जना श्रमिक विभिन्न मुलुकमा पठाएको छ । एक महिनाको अवधिमा ६४८ वटा कम्पनीमार्फत नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।
बढी श्रमिक पठाउनेमा इण्डो अरब म्यानपावर प्रालि दोस्रो स्थानमा रहेको छ । यो म्यानपावर कम्पनीले फागुन महिनामा ३०४ जना श्रमिकलाई रोजगारीका लागि विदेश पठाएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै एसओएस म्यानपावर सर्भिस प्रालि फागुन महिनामा बढी श्रमिक पठाउने सूचीको तेस्रो स्थानमा रहेको छ । उक्त कम्पनीले फागुनभित्र ३०३ जनालाई रोजगारीका लागि विदेश पठाएको छ ।
त्यस्तै लिंक इन्टरनेसनल प्लेसमेन्टले २९९ जना, रेन्टर क्यापिटल सर्भिस प्रालिले २४९ जना श्रमिक विदेश पठाएको विभागको तथ्यांक छ । ङ्खयुचर इम्प्लोइमेन्ट सर्भिस प्रालिले २४१, एसआरके नेपाल प्रालिले २३३, मोभिरा रिक्रुटमेन्ट कन्सल्ट सभिस प्रालिले २३०, भ्रिन्डित सर्भिस प्रालिले २२६, नील कमल ह्युमन रिसोर्स प्रालिले २१८ जना श्रमिक विदेश पठाएका छन् । त्यस्तै अर्थ स्मार्ट ह्युमन रिसोर्स नेपाल प्रालिले २०४ र ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालिले २०१ जनालाई रोजगारीका लागि विदेश पठाएका छन् ।
यी बाहेक एक महिनाको अवधिमा १०० भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीको संख्या ४८ वटा रहेको छ । त्यस्तै ५० जना देखि ९९ जना विदेश पठाउने म्यानपावर कम्पनीको संख्या ९८ रहेको विभागको तथ्यांकमा देखिन्छ । त्यस्तै २० देखि ४९ जना श्रमिक विदेश पठाउनेको कम्पनीको संख्या १७२ रहेको छ । १० देखि २० जनाको संख्यामा श्रमिकलाई रोजगारीका लागि विदेश पठाउने म्यानपावर कम्पनीको संख्या १२३ वटा रहेको विभागले जनाएको छ ।
१० जनाभन्दा कम श्रमिक विदेश पठाउने कम्पनीको संख्या १९४ वटा रहेको छ । एक–एक जनामात्रै श्रमिक विदेश पठाउने कम्पनीको संख्या २१ वटा रहेको विभागले जनाएको छ ।