काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाले श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । त्यहाँकार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १ मेदेखि वृद्धि गर्ने त्यहाँका प्रधानमन्त्री इस्माइल साव्री याकोवले घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीको घोषणाअनुसार वृद्धि भएको पारिश्रमिक १ मेदेखि लागू हुने र न्यूनतम ज्याला एक हजार ५०० रिंगेट बनाउने घोषणा गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री साब्रीले सुरूमा ठूला कम्पनीहरू तथा सरकारी निकायसँग आवद्ध कम्पनीहरूमा न्यूनतम ज्याला वृद्धि लागू हुने बताइएको छ ।
साना, थोरै श्रमिकमा काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरूमा भने मानव संशाधनमन्त्रीले अन्य मन्त्रीहरूसँग छलफल गरेर त्यस्ता कम्पनीहरूमा कहिलेदेखि न्यूनतम ज्याला वृद्धि लागू गर्ने भन्ने तय हुने समाचारमा जनाइएको छ ।
मलेसियामा १ फेब्रुअरी २०२० देखि न्यूनतम ज्याला एक हजार २०० रिंगेट लागू गरिएको थियो । यसैबीच मलेसियाको युनियन नेटवर्क इन्टरनेसनल मलेसिया लेवर सेन्टर (युनि एमएलसी) ले वृद्धि गरिने न्यूनतम ज्याला तत्काल राजपत्रमा प्रकाशित गर्न माग गरेको छ ।
राजपत्रमा प्रकाशित नभएसम्म न्यूनतम ज्याला वृद्धि केवल घोषणामा मात्र सीमित हुने भन्दै युनि एमएलसीले तत्काल कार्यान्वयनका लागि राजपत्रमा प्रकाशन गर्नका लागि आग्रह गरेको समाचारमा उल्लेख गरिएको छ ।
मलेसियमा पहिले पनि यस्तो घोषणा हुने, तर कार्यान्वयन नहुने गरेको र त्यसमा सरकार सम्वेदनशील हुनु पर्ने युनि एमएलसीको माग रहेको बताइएको छ । युनि एमएलसीले विगतमा पनि यसरी गरिएका घोषणा समयमै कार्यान्वयन नभएको दृष्टान्त प्रस्तुत गर्दै यसलाई केवल घोषणामा मात्र सीमित नगर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री साब्रीको घोषणापछि मलेसियाका मानव संशाधनमन्त्री एम शरभनानले न्यूनतम ज्याला एक हजार ५०० कार्यान्वयन सम्बन्धमा विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्ने समाचारमा जनाइएको छ ।