काठमाडौं– श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । युएई भ्रमणमा रहेका मन्त्री श्रेष्ठसहितको टोलीले घरेलु कामदारका रूपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको हो ।
नेपाली प्रतिनिधिमण्डलले दुबई सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर)मा भ्रमण गरी घरेलु श्रमिकको कार्यस्थल अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायतबारे जानकारी लिएको जानकारी दिइएको छ ।
उक्त अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टरका सञ्चालकले युएईमा घरेलु श्रमिकको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए । त्यहाँका अधिकारीहरूले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएको पनि बताइएको छ ।
सरकारले २०७३ सालदेखि खाडी मुलुकमा घरेलु श्रमिक पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटो हु“दै विदेश जानेक्रम भने रोकिएको छैन । यसरी विदेशमा रहेका महिलाहरू स्वदेश फर्किएपछि पुनः विदेश जान नपाउने नियम हालैमात्र नेपाल सरकारले हटाएको छ ।
जसबाट विभिन्न मुलुकमा घरेलु श्रमिकका रूपमा काम गरिरहेका महिलाहरू लाभान्वित भएका छन् । मंगलबार नेपाल–युएई संयुक्त समितिको बैठकमा पनि यस विषयमा छलफल भएको थियो । बैठकपछि दुई देशबीच विभिन्न सहमतिसमेत भएको थियो ।