
काठमाडौं– नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालमा सर्वसम्मत नेतृत्व चयन नहुने सम्भावना बढेको छ । मञ्चको जारी अधिवेशनमा सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास जारी छ । तर, ३० चैतमा सुरू भएको अधिवेशनले बुधबारसम्म पनि नेतृत्व चयन गर्न नसकेको हो ।
सर्वसहमतिमा नेतृत्व चयन गर्ने भनिए पनि उद्घाटनपछिको बन्दसत्रमा अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । मञ्चका महासचिव डिकबहादुर खत्रीले सहमतिमा नेतृत्व चयनको प्रयास जारी रहेको बताए । ‘सबै व्यवसायीको छाता संगठनमा सर्वसम्मतिको आवाज उठाउने संस्थाले आफैं सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्नु दूर्भाग्यपूर्ण हो,’ उनले भने ।
संघको नेतृत्व सर्वसम्मतिमा चयन गर्न सन्देश दिनका लागि पनि मञ्चको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्ने उनले बताए । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न मञ्चले प्रयास गरिरहेको छ । तर, आफ्नै संगठनमा नै सर्वसम्मत नेतृत्व चयन गर्न नसक्ने अवस्था देखिएको छ ।
अध्यक्षमा चार जनाको उम्मेदवारी परेकामा रोहण गुरुङले नाम फिर्ता लिएका छन् । गुरुङले उम्मेदवारी फिर्ता लिए पनि तीन जनाको उम्मेदवारी कायमै छ । र, यही अवस्थामा चुनाव हुने अवस्था रहेको महासचिव खत्रीले बताए । ३५ सदस्यीयले कार्यसमितिको चुनावका लागि अध्यक्षमा गुरुङसँगै हालका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारी, भिष्मराज शर्मा सिवाकोटी र हरिबहादुर पाण्डे क्षेत्रीको उम्मेदवारी परेको छ । अध्यक्षमा सर्वसम्मति भएको खण्डमा अन्य पदमा संख्याभन्दा धेरै उम्मेदवारी परे पनि समस्या नहुने खत्रीले जानकारी दिए । मञ्चको पाँचौं अधिवेशन सोमबार नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले उद्घाटन गरेकी थिइन् ।