
काठमाडौं– इजरायलको रोजगारीमा जानका लागि छनोट भएकामध्ये थप १० जनालाई करार सम्झौता गर्नका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गरेर उनीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि छनोट भएकामध्ये उनीहरूको सम्झौतापत्र इजरायलपक्षबाट हस्ताक्षर भएर आएको र श्रमिकको हस्ताक्षर गरी पठाउनुपर्ने भएकाले सम्पर्क गर्न सूचनामा भनिएको छ । सूचनामा जनाएअनुसार रोजगारदाताले हस्ताक्षर गरी पठाएको सम्झौतापत्रमा श्रमिकको हस्ताक्षर गराएर पाँच दिनभित्र पठाइसक्नुपर्ने भएकाले समयमै सम्पर्कमा आउन आग्रह गरिएको छ ।
श्रमिकले सूचना जारी भएको मितिले पाँच दिनभित्र सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएर व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा भैँसेपाटी ललितपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
श्रमिकले सम्झौतापत्रमा हस्ताक्षर गर्न आउँदा प्रहरी कार्यालयबाट जारी चालचलन प्रमाणपत्रको सक्कल प्रतिसँगै प्रतिलिपि तीन प्रति, कोरोना भाइरसविरुद्धको खोप लगाएको सक्कल प्रमाणपत्र र तीन प्रति प्रतिलिपि, सक्कल राहदानी र त्यसको प्रतिलिपि तीन प्रति, पासपोर्ट साइजको चार प्रति फोटो, निवेदन पेस गर्दा प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र तथा तालिमको सक्कल प्रमाणपत्र र तीन प्रति प्रतिलिपि र क्लियर ब्याग ल्याएर आउन सूचनामा भनिएको छ ।