
काठमाडौं– मलेसियामा कार्यरत नेपालीसहित ८६ जना आप्रवासी श्रमिक पक्राउ परेका छन् । मलेसियाको अध्यागमन विभागले १६ जना नेपालीसहित अवैध रूपमा बसेका ८६ जना आप्रवासी श्रमिकलाई पक्राउ गरेको हो ।
विभिन्न देशबाट मलेसिया पुगेर अवैधानिक रूपमा काम गरिरहेका उनीहरूलाई जोहरबारुको सेनाई औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको त्यहाँको अध्यागमन विभागले जानकारी दिएको छ । अध्यागमन विभागले १८५ जना विदेशी श्रमिकको अनुगमन गरेको र त्यसमध्ये ८६ जना पक्राउ परेको बताइएको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै भारतीय नागरिक रहेको जनाइएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ६४ जना रहेको बताइएको छ । त्यस्तै नेपाली १६ जना, म्यानमार र बंगलादेशका तीन–तीन जना रहेको बताइएको छ । पक्राउ परेका श्रमिकहरूको उम्मेर २० देखि ४० वर्षसम्म रहेको जनाइएको छ । उनीहरूको साथबाट कुनै पनि प्रकारको वैधानिक कागजात फेला नपरेको बताइएको छ ।
उनीहरूमाथि अध्यागमन ऐन उल्लंघन गरेको आरोप लागेको र सोहीअनुसार कानुनी सजाय हुने जनाइएको छ । पछिल्लो समय मलेसियाले अवैधरूपमा बसोबास गरिरहेका विदेशी नागरिकमाथि कडा निगरानी बढाइरहेको बताइएको छ ।