
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादका बीच पनि चुनावी कार्यक्रम सुरू भएको छ । संघको आगामी निर्वाचनका लागि प्रतिनिधि चयनको विषयलाई लिएर चलेको विवाद जारी रहे पनि आगामी नेतृत्वका लागि उम्मेदवारी दिने क्रम सुरू भएको हो ।
आगामी मार्चमा हुने १०औँ महाधिवेशनका लागि डा.बद्री केसी र रविना थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । डा. केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष र थापा महिला उपाध्यक्ष छन् । केसीले सोमबार र थापाले मंगलबार एनआरएनएको सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सुरूदेखि नै अध्यक्षको दाबी गरिरहेका कुल आचार्यले भने अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छैनन् । उनले प्रतिनिधि विवादका बीच एकपक्षीय रूपमा चुनाव हुन लागेको भन्दै विरोध गरिरहेका छन् । यो अवस्थामा उनी संघको चुनावी मैदानबाट ‘आउट’ हुने सम्भावना बढ्दै गएको देखिन्छ । आचार्यले सामाजिक सञ्जालमा लेख्दै अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् । उनले भनेका लेखेका छन्– म सबै साथीहरूलाई एक ढिक्का हुन र संस्थाको हितको लागि जस्तोसुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्दछु ।
यद्यपि, उम्मेदवारी दर्ताका लागि अझै तीन दिन बाँकी छ । उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । यसैबीच, संघको चुनाव तीन दिनपछि सरेको छ । २१ र २२ मार्चका लागि तय भएको निर्वाचन तीन दिन सारिएको हो । सहमतिका लागि अन्तिम प्रयास भइरहेकाले सबैलाई समेट्नका लागि समय सारिएको जनाइएको छ । सरेको मिति अनुसार एनआरएनएको निर्वाचन अब २४ र २५ मार्चमा हुने बताइएको छ ।